सौराहामा हात्ती महोत्सव सुरु
चितवन , १० पौष । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । महोत्सवको नेपाल सरकारका अर्थमन्त्री डा.प्रकास शरण महतले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । सो अबसरमा उनले २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिर्वतन गर्ने बेला भएको बताएका छन् । उनले पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनता बीचको दुरी बढाउने काम गरेकाले समय अनुसार यसको परिर्वतन आवश्यक रहेको बताए । अर्थमन्त्री महतले निकुञ्ज ऐन परिर्वतनको लागि सरकारी पहल सुरु गर्ने प्रतिबद्धता जनाए । निकुञ्ज ऐनको विषयमा धेरै विरोधहरु आएका छन् उनले भने अब समयसापेक्ष ऐन परिर्वतन जरुरी हुन्छ ।
निकुञ्ज जनताको लागि र जनता निकुञ्जको अबधारणको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उनले दुबैलाई दुबै आवश्यक रहेको आभाष दिलाउने गरी ऐन परिर्वतन हुनुपर्छ । निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने भन्दै अर्थमन्त्री महतले पुरानो ऐनले जनता र निकुञ्ज बीचको दुरी बढाएको आफुले पाएको बताए । निकुञ्जको महत्वलाई कम हुन दिनुहुँदैन अर्थमन्त्री महतले भने यसको महत्व अझै बढाउन सरकारले गर्नुपर्ने दायित्व पुरा गर्न तयार रहेको छ । अर्थमन्त्री महतले निकुञ्जको सुरक्षा र पर्यटनसंग जोडिएको यहाँको कलासंस्कृति संरक्षणमा सरकार कटिबन्द्ध रहेको बताए । उनले जनताको जीविकोपार्जनमा लगानी गरेर मानब वन्यजन्तुबीचको द्धन्द्ध घटाउनु पर्ने विचार व्यक्त गरे ।
अर्थमन्त्री महतले पूर्वी चितवनको विकासको लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्ने बताए । कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले सरकारले स्रोत बाँडफाँडमा पूर्वी चितवनलाई विभेद गरेको बताए । प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको नेपालको व्यवसायलाई पुर्नजीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गरे । रत्ननगरका मेयर प्रलाद सापकोटाले सौराहामा १४ करोड २४ लाखको लगानीमा सुरु गरिएको नमुना सडकको काम बजेटका कारणले रोकिन सक्ने अबस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानर्कषण गराए ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपनिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशुप्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका बरिष्ट रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको छ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सवका संयोजक तथा संघका उपाध्यक्ष ओमप्रकार पाण्डेले महोत्सव आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा महासचिव गुणराज थपलिया र सचिव महेश खनालले सयुक्त रुपमा सञ्चालन गरेका थिए । मंगलबारबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवको मुख्य आर्कषण हात्ती सुन्दरी प्रतियोगिता र हात्ती बनभोज रहेको छ । महोत्सव अन्तर्गत हात्तीसंग सम्बन्धित गतिविधि बुधबारबाट सुरु हुने छ ।