चितवन हात्ती महोत्सव : सौराहाका ६० हात्तीलाई एकैठाउँमा बनभोज
प्रकाशित मिति: शुक्रबार, पौष १३, २०८० | १५:१०:२४
सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन शुक्रबार भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पौष १० गतेदेखि आयोजना गरिएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’मा हात्तीलाई चामल र भेलीको खिर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले पुस १० गते उद्घाटन गरेको महोत्सवमा यसअघि हात्ती सुन्दरी प्रतियोगिता र डुंगादौड प्रतियोगिता सम्पन्न भएको छ । जसअनुसार हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेकी थिइ भने डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम भएको थियो । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनमा ‘पर्यटनको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रमलगायतका कार्यक्रम समावेश छन् । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगेतिक प्रस्तुती दिएका छन् । महोत्सव सुरु भएपछि गन्तव्य अबलोकन गर्न आउने स्वादेशी तथा विदेशी पर्यटकको आगमन बृद्धि भएको छ । अंग्रेजी नयाँ बर्षमा यहाँ आएका पर्यटकहरु स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरुले सौराहामा हरेक बर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।
कोरोनाका कारण तीन बर्ष रोकिएको चितवन हात्ती महोत्सवका गतिविधिलाई केही परिमार्जन गरी फेरी सुरु गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । चालु आर्थिक बर्ष सुरु भएपछि सौराहामा दैनिक एक हजार २०० बढी पर्यटक भित्र्एिको तथ्याङ्क छ । कोरोना महामारी पछि सबैभन्दा धेरै विदेशी पर्यटक अहिले आएको संघका अध्यक्ष गिरीले बताए । अहिले सौराहाका होटलहरु भरिभराउ छन् । महोत्सवका कारण विदेशी पर्यटकहरुले बसाई लम्ब्याएका छन् भने स्वदेशी पर्यटकहरु दुई रात चार दिन बस्ने गरी सौराहा आएको अध्यक्ष गिरीले बताए ।
प्रकाशित मिति : शुक्रबार, पौष १३, २०८० |
१५:१०:२४
2861