खैरहनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर,७३ जनाको परिक्षण
चितवन , १६ पौष । खैरहनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने शिविर सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित चैनपुर स्वास्थ्य चौकीमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर , स्तन क्यान्सर, अबस्ट्रेटिक फिस्टुला र आङ्ग खस्ने समस्याको पहिचान तथा व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर गरिएको हो । वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आज भएको शिविरमा ७३ जनाको परिक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको शिविरको फोकल पर्सन तथा खैरहनी नगरपालिकाकी अस्पताल नर्सिङ निरिक्षक विनिता पौडेलले जानकारी दिइन् ।
खैरहनीको विभिन्न चार स्थानमा एक एकदिन शिविर गर्ने कार्यक्रम अनुरुप आज चैनपुरमा परिक्षण शिविर गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज अधिकारीले जानकारी दिए । सोमबार खैरहनी १० स्थित कठार स्वास्थ्य चौकी, मंगलबार खैरहनी १२ स्थित कुमरोज स्वास्थ्य चौकी र बुधबार खैरहनी ९ को आधारभुत स्वास्थय केन्द्र सिमलटाँडीमा शिविर गरिने अधिकारीले बताए । शिविरको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख खनियाँले गाँउघरका महिलाहरुको सहजताको लागि गाँउ गाँउमा पाठेघरको मुखको क्यान्सरको परिक्षणको शिविर नगरपालिकाले ल्याएको बताए ।

गाँउघरमा धेरैजसो महिलाहरु काममै व्यक्त हुने र यस्ता विषयमा खासै चासो नदिने भएकाले गाँउमा चेतना होस् र बेलैमा परिक्षण गरेर त्यसको व्यवस्थापन गर्न सके अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाबाट जोगिने नगर प्रमुख खनियाँले बताए । कार्यक्रममा क्यान्सर अस्पतालकी नर्सिङ्ग सुपरभाइजर अयोध्या पाठकले क्यान्सर रोगको बारेमा जानकारी दिएकी थिइन् । शिविर उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटा , वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेती लगायतको उपस्थिती रहेको थियो ।





















