उत्पादन वृद्धिगर्न खैरहनीमा वडा स्तरिय कृषि तालिम सुरु
चितवन , १९ पौष । खैरहनी नगरपालिकाले कृषकको आवश्यकता र भूगोल अनुसार उपयुक्त हुने खेतीको लागि तालिम सुरु गरेको छ । वडामा सम्भावना रहेको खेती र कृषकको माग अनुसार प्रत्येक वडामा तालिम दिने योजना अनुरुप आज खैरहनी नगरपालिका वडा नम्बर २ बाट तालिम दिन सुरु गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा भेडे खुर्सानी र खुर्सानी खेती प्रविधिको विषयमा आज तालिम दिइएको खैरहनी नगरपालिकाको कृषि शाखा प्रमुख गौरव न्यौपानेले जानकारी दिए ।
तालिमको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले उत्पादन वृद्धि गर्न भुगोल सापेक्ष र कृषकको माग अनुसार प्रत्येक वडामा तालिम संचालन हुने बताए । प्रत्येक वडामा कृषकको माग र त्यहाँको खेतीको सम्भावना फरक फरक हुने भएकोले वडापिच्छे विभिन्न खेतीसँग सम्बन्धित तालिम हुनसक्ने नगर प्रमुख खनियाँले बताए । खैरहनी नगरपालिकाले कृषिमा धेरै कार्यक्रमहरु ल्याएको बताए । खेती गर्न इच्छुक तर जग्गा नहुनेलाई नगरपालिकाले जग्गा भाडा तिरिदिने गरि जग्गा उपलब्ध गराउने , किसान तपाईलाई के चाहिन्छ भन्ने कार्यक्रम अन्र्तगत मोटर , बोरिङ , पाइप अनुदानमा वितरण , कृषि एम्बुलेन्सको अवधारणा अनुरुप एक कलमा कृषि प्राविधिक कृषकको खेतवारीमा हुने लगायतको कार्यक्रम ल्याएको उनले बताए । तालिम लिएकाहरु समूह बनाएर खेती तथा व्यवसाय गर्न इच्छुक भए नगरपालिकाले विउ पुजी समेत प्रदान गर्ने गरि अगाडी बढेको उनले बताए । उनले अघिल्लो बर्ष नगरपालिकाले मकैमा अनुदान दिएको र यसबर्ष प्याज खेतीमा अनुदान दिएको भन्दै त्यसको फाइदा लिन कृषकहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले वडाले छनौट गरेको विषयमा नगरपालिकाले तालिम आयोजना गरेको भन्दै तालिमको सदुपयोग र व्यवहारमा लागु गर्न आग्रह गरे । पछिल्लो समय बेरोजगारी बढेको र कृषिबाट विस्थापित भइरहेको अवस्थामा यस्ता तालिमको माध्यमबाट पुनःकृषिमा लाग्न प्रेरित हुने बताए । खैरहनी नगरपालिका वडा नम्बर २ को विभिन्न टोल विकासबाट सिफारिस भएर आएका ३० जनालाई आज भेडे खुर्सानी र खुर्सानी खेती प्रविधि , त्यसमा लाग्ने रोग किरा र त्यसको व्यवस्थापन , प्राङ्गारिक मल तयारी विधि , समुचित विषादीको प्रयोग लगायतको विषयमा प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख न्यौपानेले बताए । खैरहनी नगरपालिकाका कृषि शाखा प्रमुख गौरव न्यौपाने , कृषि शाखाकै नित्या दहाल , धु्रव आचार्य र यमुना सापकोटाले प्रशिक्षण दिएका थिए ।