खैरहनीमा मेलमिलापकर्ताको नगरपरिषद तथा कानुनी सचेतना कार्यक्रम
चितवन, ४ माघ । खैरहनी नगरपालिकामा मेलमिलापकर्ताहरुको १ दिवसीय नगरपरिषद भेला एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगर परिषद भेलालाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले सबै मेलमिलापकर्ताहरु नगरमा दिगो शान्ती, न्याय र मेलमिलाप स्थापनाका लागि एकढिक्का भई निस्वार्थ र इमान्दारिताका साथ लाग्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक असमानताको अन्य गर्दै दिगो शान्तीको सूनिश्चितताको लागी मेलमिलापकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख कविता उप्रेतिले विवाद समाधान र मेलमिलापको क्षेत्रमा मेलमिलापकर्ताले गरेको कामको सरकार मात्रै नभएर समुदायले पनि उच्च मुल्याङ्कन गरिरहेको बताउनुभयो । नगर उपप्रमुख उप्रेतीले आगामी दिनमा मेलमिलापकर्ताको सहकार्य र समन्वयमा अझ अभिबृद्धि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा १३ वटै वडाका वडा मेलमिलाप केन्द्रका संयोजकहरुले वडामा विवादको मेलमिलाप कार्यसम्पादनमा विवादको अवस्था, भएका असल अभ्यास, समस्या तथा चुनौति एवम् भावि रणनीतिका बारेमा आआफ्नो वडाको तर्फबाट प्रतिवेदनको प्रस्तुतीकरण तथा अनुभव आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र. सापकोटाले दिगो विकासका लक्ष्य प्राप्तिमा मेलमिलापकर्ताको भुमिका विषयका प्रशिक्षण दिनुभएको थियो । त्यस्तै अधिवक्ता कमलराज पाठकले देवानी कानुनका आधारभुत सिद्धान्त फौजदारी कानुनका आधारभुत सिद्धान्त पारिवारिक कानुन सम्पति कानुन विवाह तथा सम्बन्ध बिच्छेद सम्बन्धी कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो भने कानुनी सहजकर्ता एवम् अधिवक्ता संजय कुमार चौधरीले न्यायिक निरुपण र मेलमिलापको अवस्था र कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
न्यायिक समितिका संयोजक कविता उप्रेतीको अध्यक्षता र नगर प्रमुख शशीकुमार खनियाको प्रमुख उपस्थिति सम्पन्न कार्यक्रममा केदारनाथ पन्तले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन कानुनी सहजकर्ता संजय कुमार चौधरीले गर्नुभएको थियो ।