नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, वितरणयोग्य ऋणात्मक
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । जस अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल बैंक लिमिटेडको नाफा करिब ४९.६० प्रतिशतले घटेर ५९ करोडमा खुम्चिएको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकले खुद ५९ करोड रुपैयाँ मात्रै नाफा गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ। खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड भएको छ ।
यस्तै सञ्चालन नाफा २२.७८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ७० लाख २२ हजार रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ। १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.५ प्रतिशत छ । गत आवको सोही अवधिमा यो ३.११ प्रतिशत थियो ।