खैरहनीका स्वास्थ्य संस्थाहरुमा अनुगमन सुरु,नियमसंगत नरहेका ३ वटालाई कारबाहीको चेतावनी
चितवन , १७ माघ । खैरहनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन सुरु गरेको छ । मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा समेत लापरबाही हुने गरेको गुनासो आएपछि नगरपालिकाले अनुगमन सुरु गरेको हो । स्वास्थ्य संस्थाको अनुमति एकजनाले लिने तर सेवा प्रभावमा भने अनुमति नभएका व्यक्ति बस्ने , इजाजत प्राप्त व्यक्ति बाहेक अन्यले औषधी बिक्रीवितरण गर्ने, नगरपालिका तथा अन्य सम्बन्धीत निकायमा दर्ता र अनुमति नलिइ स्वास्थ्य संस्था ताथ औषधी पसल संचालन गरेको भेटिए कारबाही गर्ने खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिए ।
नगरपालिकामा दर्ता नभएकालाई एक हप्ताभित्र दर्ता गर्न निर्देशन दिएको खनालले बताए । टोलीले विभिन्न वडामा अनुगमनको क्रममा ३ वटा स्वास्थ्य संस्था सम्बन्धीत निकायमा दर्ता तथा इजाजत विनानै संचालन रहेको पाएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा रहेको उत्तम हेल्थ क्लिनिक , खैरहनी ५ को जय माँ सन्तोषी मेडिकल हल र खैरहनी ४ मा रहेको नाम नै नरहेको एक औषधी पसल भेटिएको खैरहनी नगरपालिका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले बताए । खैरहनी २ को उत्तम मेडिकल हेल्थ क्लिनिक राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनी नगर सचिव रहेका उत्तम अधिकारीले संचालन गर्दै आएको खुलेको छ ।
अनुगमनको क्रममा उनले औषधी व्यवस्था विभागमा दर्ता नै नगरि हेल्थ क्लिनिकको नाममा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भेटिएको जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए । त्यसरी नियम पुरा नगरि संचालनमा रहेका स्वास्थ्य संस्थालाई एक हप्ताभित्र दर्ता तथा अनुमति लिन निर्देशन दिइएको र निर्देशन पालन नगरे एक हप्तामा उक्त स्वास्थ्य संस्थाहरु बन्द गरिने जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए ।



















