अजिङ्गरे वनले बिक्री गर्यो ८० लाखको वनपैदावार
चितवन , २३ माघ । खैरहनीको अजिङ्गरे सामुदायिक वन उपभोक्ता समूहले एक बर्षमा ८० लाखको वनपैदावार बिक्री गरेको छ । वनले गत आर्थिक बर्ष २०७९/८० मा वन पैदावारको बिक्रीबाट ८० लाख ४९ हजार ४ सय ९१ रुपैयाँ आम्दानी गरेको छ । वनको आज भएको २७ औं वार्षिक साधारणसभामा आर्थिक बर्ष २०७८/७९ को भन्दा १५ लाख ९३ हजार ६ सय २३ रुपैयाँ बढी आम्दानी गर्न सफल भएको वनका लेखा समितिका संयोजक तेजराज अधिकारीले जानकारी दिए । आर्थिक बर्ष २०७९/८० मा वनले ७ लाख ६१ हजार रुपैयाँ बचत गर्न सफल भएको अधिकारीले बताए ।
साधारणसभामा वनका अध्यक्ष रत्न बहादुर घिसिङ्गले आर्थिक बर्ष २०८०/८१ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए । आगामी बर्ष वनले ८७ लाख ३१ लख ३ सय ३२ रुपैयाँको वन पैदावार बिक्री गर्ने लक्ष्य रहेको अध्यक्ष घिसिङ्गले जानकारी दिए । साधारणसभामा कंकाली सामुदायिक वनका उपाध्यक्ष शेर बहादुर थापा मगर , नेकपा एकिकृत समाजवादीका खैरहनी नगर अध्यक्ष दुर्गादत्त अर्याल , राप्रपाका जिल्ला कमिटी सदस्य यन प्रसाद डल्लाकोटी , नकपा माओवादी केन्द्रका नगर अध्यक्ष रामेश्वर पोखरेल , नेपाली कांग्रेस नगर उपसभापति प्रेम प्रसाद रेग्मी , सामुदायिक वन उपभोक्ता महासंघ चितवनका सदस्य नारायण खनाल लगायतले बोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मिजनराज रेग्मीले वनबाट हुने काठ चोरी तस्करीलाई नियन्त्रण गर्न सुझाव दिए । काठ तस्करी नियन्त्रणको लागि सव डिभिजन कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यापर्यटनको लागि स्थानिय सरकारसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्न सुझाव दिए । वनका अध्यक्ष घिसिङ्गको अध्यक्षतामा भएको साधारणसभामा कार्यसमिति सदस्य दुर्गा माया गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
साधारणसभाले प्रगती प्रतिवेदन , लेखा समितिको प्रतिवेदन , भावी वार्षिक कार्ययोजना तथा बजेट पारित गरेको वनका कार्यालय सचिव विष्णु नेपालले जानकारी दिए ।
भिडियो