उवासंघ खैरहनीको अध्यक्षमा खनाल निर्विरोध , वाणिज्य उपाध्यक्ष र सदस्यमा मतदान हुने
चितवन , २६ माघ । पुर्वीचितवनको खैरहनीमा रहेको उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार खनाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल,उद्योगतर्फको उपाध्यक्षमा रामेश्वर पोखरेल , एशोसियटतर्फको उपाध्यक्षमा शिवराज उप्रेती, महासचिवमा विनोद अर्याल र कोषाध्यक्षमा लक्ष्मण निरौला निर्विरोध चयन भएका हुन् । निर्वाचन प्रक्रिया अन्तर्गत आज सार्वजनिक उम्मेदवारीहरुको अन्तिम नामावलीमा एक पदमा एकल उम्मेदवारी परेकाले उनिहरु निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उद्योगतर्फको सदस्यहरु र महिला सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । उद्योगतर्फको सदस्यमा अनुप अधिकारी , पुरन महतो धानुक , अम्मरराज उप्रेती , रामशरण कार्की , मनोज अधिकारी र महिला सदस्यमा दिपा कुमारी दरै निर्वाचित भएका छन् । उक्त पदहरुमा एक पदमा एक उम्मेदवारी मात्रै परेको र दावी विरोधको समयमा कुनै पनि दावी विरोध नपरेको तथा आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएता पनि कसैले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत शेषशंकर उप्रेतीले जानकारी दिए ।
वाणिज्यतर्फको उपाध्यक्षमा भने एक पदको लागि दुईजनाको उम्मेदवारी कायम रहेको छ । वाणिज्यतर्फको उपाध्यक्षमा वाहलवाला महासचिव केदारनाथ बर्तौला र वहालवाला कोषाध्यक्ष क्षेत्रबहादुर रावलको उम्मेदवारी परेको थियोे । वाणिज्यतर्फको सदस्य पदमा ७ जना निर्वाचित हुनेमा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्यतर्फको सदस्यमा अजय न्यौपाने , प्रकाश मुडवरी, लक्ष्मण विसुराल , तुलसी आचार्य , वावुराम भट्ट ,रामकृष्ण बर्तौला , लालप्रसाद चालिसे , विक्रम खड्का , प्रेमनारायण जोशी , प्रविन खरेल र विनोद नेपालको उम्मेदवारी कायम रहेकोले उक्त पदमा मतदान हुने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए ।