खैरहनी १३ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २ सय ८१ जनाको स्वास्थ्य परिक्षण
चितवन , २९ माघ । खैरहनी नगररपालिकाको आयोजनामा गवैमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर १३ को परिसरमा आज स्वास्थ्य शिविर गरिएको हो । खैरहनी १२ मा रहेको नागरिक आरोग्य सेवा केन्द्रको सहयोगमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा २ सय ८१ जनाको स्वास्थ्य परिक्षण गरिएको खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निर्मल घिमिरेले जानकारी दिए । स्वास्थ्य शिविरको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका थिए ।
नसर्ने रोगबाट अहिले धेरै जनता ग्रसित हुदै गएको र विगतदेखी नै आयुर्वेदको महत्व रहदै आएकोले त्यस्ता समस्या र रोग निवाकरण गर्न निशुल्क शिविर संचालन गरिएको नगर प्रमुख खनियाँले बताए । विषादीयुक्त र अस्वस्थकर खानपान सँगै पछिल्लो समय आफूखुसी धेरै मात्रामा एन्डिबायोटिक औषधीहरुको प्रयोगले गर्दा धेरै समस्या देखिएको भन्दै उनले आयुर्वेद पद्दतीबाट उपचार गर्न सकिनेमा जोड दिए । उनले भौतिक पुर्वाधारसँगै स्वास्थ्य क्षेत्रमा धेरै कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
खैरहनी नगरपालिककी उप प्रमुख कविता उप्रेतीले तत्कालीन र आपतकालिन उपचारमा एलोपेथिक औषधी प्रयोग गरेपनि लामो समय औषधी सेवन गर्नुपर्ने प्रकृतिको नसर्ने रोगको लागि आयुर्वेदिक औषदी समेत अत्यन्तै प्रभावकारी रहदै आएको बताइन् । कार्यक्रममा खैरहनीका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , खैरहनी १३ का कार्यवाहक वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा स्वास्थ्य परिक्षण गरेकाहरुलाई आवश्यकता अनुसार आयुर्वेदिक औषधी निशुल्क रुपमा वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।