वर्ल्डलिङ्कको मेस बिकन १.१ राउटर, घरको सबै ठाउँमा उच्च गतिको एउटै वाई–फाई नेटवर्क
चितवन । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले नोकियाको मेस बिकन १.१ राउटर १०० एमबीपीएस वा सो भन्दा माथिका सबै प्याकेज लिने ग्राहकलाई दिने भएको छ । यसअघि वर्ल्डलिङ्कले उक्त बिकन राउटर २०० एमबीपीएस वा सो भन्दा माथिका प्याकेज लिने ग्राहकलाई मात्रै दिँदै आएको थियो ।
अहिले सबै जस्तो इन्टरनेट सेवा प्रदायकले १०० एमबीपीएस वा सोभन्दा माथिको इन्टरनेट दिइरहेका छन् । यस्तोमा ठूलो अथवा धेरै कोठाहरु वा तला भएको घरमा समेत एउटै इन्टरनेट कनेक्सन पर्याप्त हुन थालेको छ तर एउटा मात्र राउटरले वाईफाई कभरेज नदिने हुँदा ग्राहकहरुले समस्या झेल्दै आएका छ्न् । सेवाग्राहीको सोेही समस्यालाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले मेस राउटरको अवधारणाको रूपमा आफैँले सेकेन्डरी राउटरको विकल्प समेत दिइरहेको छ । जुन खर्चका हिसाबले मात्र नभएर वाई–फाई तथा इन्टरनेटको अनुभवको हिसाबले समेत उत्तम विकल्प हुने कम्पनीले दाबी गरेको छ ।
हाल बजारमा सिङ्गल ब्याण्ड, डुअल ब्याण्ड र डुअल ब्याण्ड प्लस मेस राउटर, सिक्सजी गरी फरक–फरक प्रविधिमा आधारित राउटर उपलब्ध छन् । जसमध्ये डुअल ब्यान्ड सहितको मेस राउटर राख्दा घरभरी सबैतिर उच्च गतिको एउटै वाई–फाई नेटवर्क विस्तार भएर रहन्छ । यसको अर्थ सामान्य किसिमको सेकेन्डरी राउटर लिएर राख्दा जस्तो यसमा छुट्टाछुट्टै वाई–फाई नेटवर्क नभएर एउटै वाई–फाई हुन्छ ।
जसले गर्दा एउटा तल्लाबाट अर्को तल्लामा जाँदा समेत वाई–फाई कनेक्सन टुट्दैन । साथै छुट्टाछुट्टै वाई–फाई नेटवर्क हुँदा एक अर्कोमा स्वीच गरिरहनु पर्ने पासवर्ड बदल्न अलगै राउटरको सेटिङ चलाउनु पर्ने झन्झट पनि यसमा रहँदैन । आजका दिनमा हामीले उपभोग गर्ने कन्टेन्टका आधारमा पनि डबल ब्याण्ड प्लस मेस राउटर निकै प्रभावकारी मानिन्छ ।
मूल्यमा कुन सस्तो ?
इन्टरनेट बजारमा सेकेन्डरी राउटरका लागि टीपी लिङ्क, एमआई लगायतका अनेकौं विकल्प छन् । यता इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई नोकिया, ह्वावे, जेडटीई लगायतका राउटर उपलब्ध गराउँदै आएका छन् । बजारमा सिङ्गल ब्याण्ड राउटरका लागि कम्तिमा दुई हजार ५०० रुपैयाँ पर्न आउँछ । डबल ब्याण्ड राउटरको मूल्य भने पाँच हजार रुपैयाँसम्म हुने गरेको छ ।
त्यस्तै हाल बजारमा सबैभन्दा प्रभावकारी मानिएको डबल ब्याण्ड प्लस मेस राउटरको मूल्य चार हजार ५०० रुपैयाँभन्दा माथि छ फेरिपनी बजारमा उपलब्ध राउटरहरुले मेन राउटरसँग मेस प्रविधिमा काम गर्दैनन् । यस्तोमा वर्ल्डलिङ्कले उपलब्ध गराउने नोकियाको डबल ब्यान्ड प्लस मेस राउटर सस्तो देखिन्छ ।
उदाहरणका लागि वर्ल्डलिङ्कका ग्राहकले तीन महिना, छ महिना र एक वर्षका लागि इन्टरनेट जडान गर्दा थप केही शुल्क बुझाएर यस्तो राउटर लिन सक्छन् । कम्पनीका अनुसार ग्राहकले तीन महिना र ६ महिनाको लागि इन्टरनेट जडान गर्दा दुई हजार रुपैयाँ रेन्टल र पन्ध्र सय डिपोजिट तिरेर एउटा बिकन राउटर राख्न सक्छन् ।
जसमध्ये एक हजार ५०० रुपैयाँ डिपोजिटको रुपमा रहन्छ, जुन तपाईले इन्टरनेट प्रयोग गर्न बन्द गरेसँगै फिर्ता पाउन सक्नु हुन्छ । अझ एक वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकलाई त कम्पनीलाई डिपोजिटको रूपमा एक हजार ५०० रुपैयाँ बुझाए पुग्छ ।