खैरहनीमा फागुन २२ देखी ३० गतेसम्म दादुरा रुबेला खोप अभियान चल्ने
चितवन , १४ फागुन । खैरहनी नगरपालिकाभित्र यहि फागुन २२ गतेदेखी ३० गतेसम्म दादुरा रुबेला खोप अभियान संचालन हुने भएको छ । अभियानमा ५ बर्षदेखी १५ बर्षमुनीका बालवालिकालाई खोप लगाइने खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी दिए । खैरहनी नगरपालिकाभित्रका करिब १७ हजार ६ सय ४० जना बालवालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने उनले बताए । खोप अभियान संचालनको लागि ४७ वटा केन्द्र तोकिएको अधिकारीले बताए । खोप अभियानको तयारी स्वरुप आज पालिका स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत , नगर शिक्षा अधिकारी , विभिन्न वडाका वडा अध्यक्षहरु , विभिन्न विद्यालयका प्रधानाध्यापक , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका तथ्यांक अधिकृत इन्द्रमणी भण्डारीले खोप अभियानको बारेमा प्रकाश पारेका थिए । केन्द्रिय कार्यक्रम अनुरुप जिल्लामा अभियान संचालन हुन लागेको उनले बताए । चितवनपनि दादुरा रुबेलाको प्रभावित जिल्लाको रुपमा रहेकोले चितवनमा ५ बर्षदेखी १५ बर्षमुनीका र कक्षा १० सम्मका बालवालिकालाई खोप लगाइने उनले बताए ।
विगतमा चितवनमा ५२ जनामा दादुरा देखिएको भण्डारीले बताए । चितवन जिल्लाभरी करिब सात सय केन्द्रमा २ हजार १ सय स्वयम्सेवक परिचालन हुदैछन् । उनले यसअघि दादुरा रुवेलाको खोप लगाइसकेका बालवालिकालाई समेत खोप लगाइने प्रष्ट पारेका छन् । कार्यक्रममा खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक निर्मल घिमिरेले खोप समन्वय समिति, संघसंस्था , विद्यालयका प्रधानाध्यापक र संचारकर्मीहरुको भूमिकामाथी प्रकाश पारेका थिए । उनले खोप कार्यक्रम संचालनको विधि र त्यसका चुनौतीहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले खोप अभियानको समयमा हेलचक्राई गरेर खोप लगाउन छुटेमा पछि समस्या पर्ने औल्याए । उनले लक्षित बर्गका बालवालिका कोहि पनि खोपबाट नछुटुन् भनेर प्रचारप्रसारमा जोड दिने बताए । नगरपालिकाले वडा कार्यालय र टोल विकासमार्फत सूचना प्रवाहलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।