नारायणी विद्या मन्दिरको आईएसओ सचेतना तालिम
भरतपुर, १५ फागुन । भरतपुर–१६ शिवघाटमा रहेको नारायणी विद्या मन्दिर अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने भएको छ । अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा जानका लागि विद्यालयले सोमबार अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आईएसओ) सचेतना तालिम गरेको छ ।
सो तालिममा विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा आईएसओका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णकुमार दुवाडीले विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डमा पुर्याउनका लागि आईएसओमा जान लागेको बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न पनि आईएसओमा जान लागिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा भरतपुर–१६ का वडाध्यक्ष अमृत हमालले विद्यालयले गर्ने हरेक सकारात्मक काममा आफूहरुको साथ र सहयोग रहने बताउनुभयो । आईएसओले शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने भन्दै हमालले त्यसका लागि शिक्षक, विद्यालय, विद्यार्थी र अभिभावकको समेत समान भूमिका रहने बताउनुभयो । सामुदायिक विद्यालयमा हुने राजनीतिका कारण शिक्षामा फड्को मार्न नसके पनि संस्थागत विद्यालयहरुले आफ्नो गुणस्तरमा वृद्धि गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीनिवास पौडेलले विसं २०५१ मा स्थापना भएको विद्यालयले अहिले कक्षा १२ सम्मको अध्ययन गराउँदै आएको बताउनुभयो । उहाँले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्यापन गराउने गरी स्वीकृति लिएर आएको भन्दै आफ्ना विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न पनि आईएसओमा जान लागिएको समावेसी खबरलाई बताउनुभयो । बालबालिकालाई शिक्षा सँगै संस्कार पनि सिकाउँदै आएको विद्यालय आईएसओमा गएपछि सोहीअनुसारको शैक्षिक वातावरण आवश्यक पर्ने भएकाले शिक्षकलाई समेत आईएसओसम्बन्धि सचेतना प्रशिक्षण दिइएको पौडेलको भनाइ छ ।
सो कार्यक्रममा आईएसओ प्रतिनिधि सुदिप शर्मा र नारायण दवाडीले सचेतना तालिम प्रदान गर्नुभएको थियो । सो क्रममा उहाँहरुले अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि संस्थाले सुरुआती चरणबाटै प्रकृया अपनाउने भए पनि विकासोन्मुख देशमा पूर्णरुपमा पालना नगरिएको बताउनुभयो । आईएसओ प्रमाणीकरणपछि विद्यालयको सेवा व्यवस्थापनमा मुख्य भूमिका हुने भन्दै उहाँहरुले आईएसओ प्रमाणीकरणको विश्वभरी मान्यता हुने बताउनुभयो ।