वडाध्यक्ष पन्तद्वारा अक्षयकोषमा एक लाख रूपैयाँ सहयोग
चितवन, १८ फागुन । भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्त हरिले वागीश्वरीको गौ संरक्षण केन्द्रको अक्षयकोषमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रलाई पन्तले एक लाख एक हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्राकट्य दिवसको अवसर पारेर बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा वडाध्यक्ष पन्तले अक्षयकोषलाई आर्थिक सहयोग गर्नुभएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकालले जानकारी दिनुभयो । वागीश्वरीमा संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्दश्यसहित स्थापना गरिएको गौ अक्षयकोष स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएको भन्दै वडाध्यक्ष, समाजसेवी एवं दानवीर पन्तलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्वारा संरक्षक सदस्यको रुपमा सम्मानित समेत गरिएको छ । गौ सेवामा पु¥याउनुभएको योगदानको लागि योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले हार्दिक आभार व्यक्त गरेको केन्द्रका संयोजक नवराज ढकालले बताउनुभयो ।
वागीश्वरीमा योगी नरहरिनाथले विसं २०४९ सालबाट गौ संरक्षण अभियानको थालनी गर्नुभएको थियो । अहिले केन्द्रमा स्थानीय जातका दुई सय २५ गाई संरक्षित छन् । गौ सेवा गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोष खातामा ११ हजार रुपैयाँभन्दा बढी रकम प्रदान गर्ने दातालाई गौ संरक्षण केन्द्रको आजीवन सदस्य एवम् एकलाख रुपैयाँ भन्दा रकम प्रदान गर्ने दातालाई संरक्षक सदस्यको रुपमा सम्मानित गरिने ढकालले बताउनुभयो ।
योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको अक्षयकोष खातामा हालसम्म पचहत्तर लाख रुपैयाँ रकम जम्मा भएको भन्दै संयोजक ढकालले सो रकम तीन करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । उहाँले आफूले सक्दो रकम अक्षयकोषमा जम्मा गरेर गौ सेवाको अभियानमा सहभागी हुने समेत गौभक्त एवम् दानवीरहरुलाई आह्वान गर्नुभएको छ ।