१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी शालिन पोखरेल
बुवा कान्छी ल्याएर काठमाडौंमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा
बुवा कान्छी ल्याएर काठमाडौंमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा
चितवन । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्।
प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ । शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ ।’
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ ।’ अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन् ।





















