बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३२ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल ३२ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २५ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४ करोड ८० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ६० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ ।
आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ । २०८१ वैशाख ३ गतेदेखि २०८१ कात्तिक ३ गतेसम्म ६ महिना (१८८ दिन) का लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले चैत २५ गते साँझ ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।