ताइवानमा भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार
काठमाडौं । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानका पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरू गरिएको छ । ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पु¥याउन शनिबार उडान भरेका छन् । ताइवानमा बुधबार गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार १०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ठूलो पहिरो खसेको थियो जसका कारण ताइवानको पूर्वपश्चिम राजमार्गको सुरुङ र घुमाउरो सडकको लामो खण्ड अवरुद्ध भएको थियो भने पहाडी भिरालो जमिनमा कोरिएका उत्तरदक्षिण क्षेत्रका तटीय मार्ग पनि अवरुद्ध भएका थिए ।
राजधानी ताइपेइबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हुलियानमा भूकम्पपछि शनिबार बिहान ५.२ म्याग्नीच्यूडसहितका ३०० भन्दा बढी पराकम्प गएका छन् ।