इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह
काठमाडौं । इसराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यो सूचना जारी गरेको हो । दूतावासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन पनि अनुरोध गरेको छ । शनिबार राति इरानले इसरायलमाथि ३०० भन्दा बढी घातक ड्रोन र मिसाइलहरू आक्रमण गरेको छ । सो आक्रमण भएसँगै इसराइलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको हो ।
‘आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ जारी सूचनामा भनिएको छ । कुनै समस्या परेको अवस्थामा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।