खैरहनीको विभिन्न स्थानमा खुल्ला व्यायामशाला
चितवन , २६ बैशाख । खैरहनी नगरपालिकाको विभिन्न स्थानमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । खैरहनी नगरपालिकाले जनताले सहज र निशुल्क रुपमा व्यायाम गर्न पाउने गरि नगरभित्रको विभिन्न ६ स्थानमा खुल्ला व्यायामशाला संचालनमा ल्याएको हो । हरेक मानिसलाई स्वस्थ रहन व्यायम आवश्यक भएको विषयलाई मध्यनजर गर्दै ६ वटा वडामा खुल्ला व्यायामशाला स्थापना गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले जानकारी दिए ।
बजार क्षेत्रमा व्यवसायिक व्यायामशाला रहेपनि सवै नगरवासीलाई पायक नपर्ने र सर्वशुलभ नहुने भएकोले नगरपालिकाले आफ्नै लगानीमा विभिन्न स्थानमा खुल्ला व्यायामशाला संचालनमा ल्याएको नगर प्रमुख खनियाले बताए । खुल्ला व्यायामशाला मा निशुल्क रुपमा व्यायाम गर्न पाउने छन् । गत आर्थिक बर्षबाट एक वडामा एक खुल्ला व्यायामशाला निर्माण गर्ने अभियान अनुरुप हालसम्म ६ वटा वडामा व्यायामशाला संचलानमा ल्याइएको नगर प्रमुख खनियाले बताए । अघिल्लो आर्थिक बर्षमा खैरहनी नगरपालिकाको वडा नम्बर २ को विन्दवासिनी चोक , खैरहनी १३ कोे पुष्पलाल पार्क , खैरहनी १० को कठारमा खुल्ला व्यायामशाला संचालनमा ल्याएकोमा हालै मात्रै खैरहनी ११ को समी चोक, वडा नं ६ मा डिजी पार्क अगाडी र वडा नं ८ को धार्मिक उत्थान भवन छेउमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । यसै आर्थिक बर्षभित्रै वडा नं १२ र ४ मा थप व्यायामशाला स्थापना हुने नगर प्रमुख खनियाले बताए ।
सबै वडामा क्रमैसँग व्यायामशाला स्थापना गर्ने नगरपालिकाको तयारी छ । बिहान बेलुका हिडडुल गर्दै खुल्ला व्यायामशाला मा व्यायाम गर्न सहज हुने खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले बताइन् । खुल्ला व्यायामशाला भएपछि नगरवासीहरुले आफ्नो अनुकुलको समयमा नजिकको व्यायामशालामा सहज रुपमा व्यायम गर्न पाउने उनले बताइन् । व्यायामशाला को दिगो व्यवस्थापनको लागि टोल विकास संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।