श्री माध्यमिक विद्यालयमा निर्वाचन मार्फत ‘विद्यार्थी नेता’ छनौट
भरतपुर, ४ जेठ । चितवनको भरतपुर–१६ मा रहेको श्री माध्यमिक विद्यालय ढड्डाघारीले नमूना निर्वाचन मार्फत विद्यालयमा ‘विद्यार्थी नेता’ छनौट गरेको छ । शुक्रबार विद्यालयमा विद्यार्थीहरुले मतदान गरी विद्यालयको सदन कप्तान, उपकप्तान एवम् छात्र प्रमुख र छात्रा प्रमुख चयन गरेको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिमार्फत माध्यमिक विद्यालय ढड्डाघारीमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ का लागि आफ्नो नेता चुनेका हुन् । कुल २८ जना उम्मेदवार रहेको निर्वाचनमा, चार सदनका कप्तान, सहकप्तान, विद्यालय छात्र÷छात्रा प्रमुख गरी १० जना उम्मेदवार निर्वाचित भएका छन् । मतदान परिणाम अनुसार विद्यालय छात्र प्रमुखतर्फ रामसिंह मोक्तान एवम् छात्रा प्रमुखतर्फ अस्मिता तामाङ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, रातो सदनको कप्तानमा यनुस विक र उपकप्तानमा कञ्चन गुरुङ, निलो सदनको कप्तानमा मत बराबरी भएपछि गोलाप्रथाबाट सचिना थापा र उपकप्तानमा रजिस्मा अधिकारी, हरियो सदनको कप्तानमा मिसन गुरुङ र उपकप्तानमा सोनिया नेपाली एवम् पहेँलो सदनको कप्तानमा नुसन गुरुङ र उपकप्तानमा सुनील पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एवम् विद्यालय अतिरिक्त कृयाकलाप संयोजक शिव पौडेलले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो कार्यक्रम विद्यालयको पहिलो अभ्यास भएको पौडेलले बताउनुभयो ।
निर्वाचन उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावीबिरोध, उम्मेदवारी फिर्ता तथा प्रचारप्रसारको लागि निश्चित समयसमेत दिएर गरिएको नमूना निर्वाचनमा वास्तविक निर्वाचनको पूर्ण अनुशरण गरिएको पौडेलको भनाइ छ । नमूना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमताको विकास गराउँदै राजनीतिक, सामाजिकीकरणको स्वःस्फुर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको पौडेलले बताउनुभयो ।