अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवम् सम्मान
नवलपुर, ४ जेठ । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले कक्षा १२ को परीक्षा दिएका आफ्ना विद्यार्थीलाई बधाई एवम् सम्मान गरेको छ । शुक्रबार कलेजले विद्यार्थीहरुको सम्मानमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनीयर हरि भण्डारीले अहिले कक्षा १२ उत्तीर्ण गरेर युवाहरु विदेशीने भयानक अवस्था रहेको बताउनुभयो । विद्यार्थीको मानसिक, शारीरिक एवम् भावनात्मक विकास नहुँदै वैदेशिक अध्ययनका नाममा तेस्रो मुलुक पुग्दा विद्यार्थीको भविष्य बिग्रनेतर्फ सचेत गराउनुभयो । “सकेसम्म युवाहरु आफ्नै देशमा बस्नुपर्छ, विदेश जाने क्रम रोकियो भने मात्रै मुलुकको विकास गर्न सकिन्छ” उहाँले भन्नुभयो, “विद्यार्थीहरु वैदेशिक अध्ययनका लागि जानैपर्ने अवस्था आएमा कम्तिमा स्नातक उत्तीर्ण भएपछि मात्रै जाँदा उपयुक्त हुन्छ ।”
कलिलै उमेरमा वैदेशिक अध्ययनका लागि भनेर जाँदा उनीहरुमा जिम्मेवारी धेरै हुने कारण मानसिक समस्यामा पर्ने गरेका भण्डारीले बताउनुभयो । युवा विद्यार्थीहरु सकारात्मक सोच र विचार राखेर अघि बढेमा उनीहरु नेपालमै सफल हुने प्राध्यापक इन्जिनीयर भण्डारीले बताउनुभयो । नेपाली समाज नकारात्मकतातर्फ गइरहेको र यहाँ केही हुँदैन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यस्ता गलत कुराहरु चिर्नका लागि पनि युवाहरु विदेशीने क्रम रोकिनुपर्ने भण्डारीको भनाइ छ ।
कार्यक्रममा कलेजका शैक्षिक सल्लाहकार एशोसिएट प्रोफेसर डा वसन्त अधिकारीले अरुको पछि लागेर कलिलै उमेरमा वैदेशिक अध्ययनका लागि जाँदा दुःख पाइने बताउनुभयो । “कक्षा १२ उत्तीर्ण गरेर विदेश अध्ययन गर्न जाँदा कति दुःख पाइन्छ भन्ने कुरा मैले भोगेको छु” उहाँले भन्नुभयो, “यदि विदेश जाने नै हो भने पनि नेपालबाटै स्नातक उपाधि लिएर जाँदा राम्रो हुन्छ ।” त्यसैगरी कलेजको राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्काय प्रमुख हरि थपलियाले अक्सफोर्ड कलेजमा नै प्लेग्रुपदेखि पोस्ट ग्राजुएटसम्मको शिक्षा अध्ययन गर्न पाइने भन्दै कक्षा १२ पछिको शिक्षा यहीँबाट लिएर अध्ययन पूरा गर्न आग्रह गर्नुभयो ।
नेपालको अध्ययन पूरा गरेर विदेश जाँदा थप अध्ययन र रोजगारीको राम्रो अवसर प्राप्त हुने थपलियाको भनाइ थियो । विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्वारा साङ्गीतिक प्रस्तुती एवम् प्रतिभाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल तिलकराम पन्थी, बिईका विभागीय प्रमुख भीम भण्डारी, व्यवस्थापनका सहसंयोजक कृष्ण विक, बिबिए कार्यक्रम प्रमुख सुशान्त तिवारी, प्राध्यापक रेखा लम्साललगायतले मन्तव्य राख्नुभएको थियो ।