खैरहनीमा गंगा आरती सुरु गर्ने विषयमा अन्तरक्रिया
चितवन , २६ जेठ । पूर्वीचितवनको खैरहनीमा गंगा आरती गर्ने विषयमा अन्तरक्रिया भएको छ । उद्योग वाणिज्य संघ खैरहनीले पर्सामा रहेको पम्पा खोला किनार छेउ रहेको धार्मिक उत्थान केन्द्र परिसरमा गंगा आरती गर्नसक्ने संभावनाको विषयमा विभिन्न सरोकारवाला संस्था तथा व्यक्तिहरुसँग आज छलफल गरेको हो ।
खैरहनी नगरपालिका वडा नम्बर ८ र ६ को सिमाना रहेको पम्पा खोला किनारमा गंगा आरती गर्दा बेलुका अबेरसम्म बजारमा चहलपहल हुनुको साथै धार्मिक र पर्यटकिय रुपमा समेत टेवा पुग्ने विश्वास लिएको उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनालले बताए । अन्तरक्रिया कार्यक्रममा अधिकाम्सले गंगा आरती गर्ने विषय अत्यन्तै राम्रो भएको तर त्यसको दिगोपनको सुनिश्चित गरेर मात्रै काम सुरु गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागीहरुले गंगा आरती गर्ने भएपछि खोला सरसफाई पनि हुने, बजारमा चहलपहल पनि बढ्ने र धार्मिक तथा आन्तिरक पर्यटन समेत बढ्ने विश्वास व्यक्त गरे । उनीहरुले स्थानिय सरकार थप जिम्मेवार हुनुुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघले विषय उठान गरेर पहल गरेपनि त्यसको दिगोपनको लागि स्थानिय सरकारको भुमिका महत्वपूर्ण हुने भन्दै सहकार्य गर्नुपर्नेमा सबैले सुझाव दिए ।
कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले धार्मिक , पर्यटन र बजार चलायमान हुने विषयमा आफु सधै सकारात्मक रहेको भन्दै ठोस निर्णय भएर आए वडाको तर्फबाट सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा धार्मिक उत्थान केन्द्र पर्साका र पर्सा अखण्ड हरिकिर्तन मन्दिर समितिका पदाधिकारी, धामिक गुरु बालकृष्ण अर्याल , उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष केशवराज पाठक, वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, उपाध्यक्षहरु रामेश्वर पोखरेल र क्षेत्र बहादुर रावल , महासचिव विनोद अर्याल ,सदस्यहरु अन्जन चालिसे , अनुप अधिकारी लागायतले आफ्नो धारणा राखेका थिए ।