खैरहनीका होटल तथा पसलमा अनुगमन
चितवन , ०४ असार । खैरहनीका होटल तथा पसलहरुमा अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्मा नेतृत्वको अनुगमन टोलीले आज खैरहनीको पर्सा बजारमा रहेको धु्रव रेष्टुुरेन्ट एण्ड लज , बालेन बेकरी एण्ड क्याफे, प्रभु किराना पसल , आस्था डिपार्टमेन्टल स्टोर र पराजुली होलसेल मार्टमा अनुगमन गरेको हो । अनुगमनको क्रममा होटलको किचन सरसफाईमा ध्यान दिन र फ्रिजको उचित तापक्रम कायम गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनकी खाद्य निरिक्षक बन्दना पन्तले जानकारी दिइन् ।
पर्साको प्रभु किरानामा उत्पादन मितिहरुको लेबल प्रष्ट नदेखिएको सोयाविनको प्याकेटहरु भेटिएकोले त्यस्ता वस्तु विक्रि नगर्न निर्देशन दिएको र दि आस्था स्टोरमा केहि म्याद गुज्रेको सामाग्री भेटिएकोले नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्मासहित खाद्य निरिक्षक बन्दना पन्त , खैरहनी नगरपालिका रमेश पौडेल , राष्ट्रिय उपभोक्ता मञ्च चितवनका अध्यक्ष जिवलाल पुरी , इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीराम तिमिल्सीना ,उद्योग तथा वाणिज्य कार्यालय चितवनका राजेन्द्र कुमाल, उद्योग वाणिज्य संघ खैरहनीका सदस्य किरण बुर्लाकोटी लगायतको सहभागीता रहेको थियो ।