रत्ननगरमा एक बर्षको खाना र विविध खर्च ९७ लाख,असुल गर्नुपर्ने बेरुजु २० लाख
चितवन , ५ असार । पूर्वीचितवनको रत्ननगर नगरपालिकाले खाना र विविध खर्चमा ९७ लाख बढी खर्च गरेको देखिएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० मा खाना विविध खर्च भनेर ९७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ खर्च गरेको हो । महालेखा परिक्षकको प्रतिवेदनले आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने भन्दै खर्चको मापदण्ड बनाएर खर्च नियन्त्रण गर्न सुझाव दिएको छ । नगरपालिकाले विविध खर्च शिर्षकबाट मात्रै ३१ लख ४० हजार खर्च गरेको छ । वडा कार्यालय समेतको लागि खाना विविध खर्च उल्लेख गरि ९७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै नगरपालिकाको असुल उपर गर्नुपर्ने बेरुजु २० लाख २९ हजार देखिएको छ । नगरपालिकाले नियमविपरित भुक्तानी दिएका व्यक्ति तथा संस्थाहरुबाट २० लाख २९ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७९÷८० मा मात्रै रत्ननगरमा कुल २ करोड २७ लाख १ सय बेरुजु देखिएको छ । जसमध्य असुल उपर गुर्नपर्नेमा २० लाख २९ हजार , अनियमित भएको ६३ लाख ४४ हजार , प्रमाण कागजात पेश नभएकोमा १ करोड १७ लाख ९८ हजार , पेश्कीमा १ लाख रुपैयाँ रहेको छ ।