नगर प्रमुख गैरजिम्मेवार हुँदा राप्ती अस्तव्यस्त भयो, जनताको काम रोकियो : वडा अध्यक्षहरु
चितवन , १७ साउन । राप्ती नगरपालिकाका नगर प्रमुख गैरजिम्मेवार हुँदा राप्ती नगरपालिका अस्तव्यस्त भएको बहुसंख्यक वडा अध्यक्षहरुको आरोप छ । राप्ती नगरपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस निकटका जनप्रतिनिधिहरुले नगर प्रमुख जिम्मेवार हुन नसक्दा कार्यपालिका बैठक र नगरसभा नभएको बताए । राप्तीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वडा अध्यक्षहरुले लामो समयसम्म कार्यपालिका वैठक र असारमा हुनुपर्ने नगरसभा समेत नहुदा नगरपालिकामा अहिले अधिकाम्स सेवा ठप्प भएको बताए ।
कार्यपालिका वैठक र नगर सभा बोलाउने अधिकार नगर प्रमुखमा रहेको तर नगर प्रमुखले आफ्नो जिम्मेवार बहन नगर्दा समस्या परेको राप्ती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम बलले बताए । प्रत्येक महिना कम्तीमा एक पटक कार्यपालिका वैठक बस्नुपर्ने व्यवस्था रहेपनि राप्तीका नगर प्रमुख शमशेर लामाले असोजयता कार्यपालिका वैठक नै आव्हान नगरेको वडा अध्यक्ष बलले बताए ।
त्यस्तै वर्षको दुईपटक हुने नगरसभा अनुरुप पुषमा हुनुपर्ने नगरसभा समेत नभएको र यसवर्षको लागि बजेट ल्याउन असारमा हुनुपर्ने नगरसभा समेत नभएको उनले बताए । कार्यपालिका वैठक र पुषको नगरसभा गराउन पटक पटक आग्रह , ज्ञापनपत्र र अल्टिमेटम दिदा समेत नगर प्रमुखले कुनै सुनुवाइ नगरेपछि आफुहरुले नगर प्रमुख र उप प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उनले बताए ।
तालाबन्दी गरेर नैतिक दवाव सिर्जना गराउन खोज्दा समेत नगर प्रमुखले कुनै चासो नदिएको उनको आरोप छ । त्यसपछि आफुहरुले कार्यपालिका वैठक र हिउदे नगरसभाको माग गर्दै उच्च अदालत पाटन हेटौंडामा मुद्दा हालेको तर त्यसो फैसला नआइसकेको उनले बताए ।
नगर प्रमुखले कार्यकक्षमा तालाबन्दी भएको कारण कार्यपालिका वैठक र नगर सभा गर्न नसकेको भन्दै गलत प्रचारप्रसार गराइरहेको उनीहरुले दावी गरे । नगर प्रमुखले कार्यपालिका वैठक गर्ने प्रतिबद्धता जनाएर वैठक आव्हानको आधिकारिक जानकारी गराउन साथ आफुहरु ताला खोल्न तयार रहेको राप्ती १२ का वडा अध्यक्ष अर्जुन चेपाङले बताए ।
कार्यपालिका बैठकको माग गर्दा सुनुवाइ नभएर दवाद दिन ताला लगाएका हौ , यदि वैठक आव्हान भए तुरुन्तै ताला खुल्छ उनले भने । नगर प्रमुख गैरजिम्मेवार हुँदा नगरसभानै आव्हान नभएको जसको कारण बजेट आउन सकेन र अहिले जनताको अधिकाम्स काम ठप्प भएको वडा अध्यक्ष चेपाङले बताए ।
नगर प्रमुख विभिन्न मिडियाबाजि गर्दै जनतालाई भ्रममा राखेको वडा नम्बर २ का वडाअध्यक्ष श्याम सुन्दर उप्रेतीले दावी गरे । उनले पछिल्लो समय नगर प्रमुख सवार गाडीमा भएको तोडफोडको घटना समेत शंकास्पद रहेको बताए ।
त्यस्तो घटना यदि अरु कसैबाट भएको भए त्यसको अनुसन्धानको लागि मेयरले किन पहल वा दवाव नदिएको , किन चासो नदिएको भन्दै प्रतिप्रश्न गरे । उनले उक्त घटनामा नगर प्रमुखकै सम्लग्नता हुनसक्ने आशंका रहेको बताए ।
राप्तीका नगर प्रमुख शमशेर लामाले भने कार्यकक्षमा ताला लगाएको र अदालतमा मुद्दा विचाराधीन रहेकोले कार्यपालिका वैठक र नगरसभा गर्न नसकिएको दावी गरे । कार्यकक्षको ताला नखोल्दासम्म कार्यपालिका वैठकको संभावना न्यून रहेको उनको आशय छ ।
जनताको काम रोकिएको प्रती आफू चिन्तित रहेको भन्दै त्यसको सहजताको लागि पहल गरिरहेको उनले बताए । राजश्वको दर रेट अघिल्लो आर्थिक वर्षकै गर्ने हाललाई काम खुलाउने र पछि नगरसभाबाट अनुमोदन गर्ने गरि छलफल भइरहेको उनले बताए ।
दुवैपक्ष आरोप प्रत्यारोपमा लाग्दा जनता मारमा परेका छन् । नगरसभा नहुदा राप्तीमा अहिले राजश्व लिएर दिनुपर्ने सम्पुर्ण सेवा प्रभाव ठप्प रहेको छ । नगर सभा नहुदा बजेट होलिडेको अवस्थामा रहेको जसमा राजश्व लिन पनि नपाइने र कुनैपनी खर्च समेत गर्न पाइदैन ।
वडा तथा नगरमा राजश्व लिन नपाउने भएपछि सेवाग्राहीहरुको अधिकाम्स काम गर्न नसकेको राप्तीका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले बताए । राप्तीको कुनैपनी वडा तथा नगरबाट राजश्व लिएर गर्नुपर्ने सामान्य सिफारिस , नागरिकताको सिफारिस , घरबाटो सिफारिस , चारकिल्ला प्रमाणित , नाता प्रमाणित लगायतको कुनैपनी काम भएको छैन । यसको प्रत्येक्ष मारमा जनता परेका छन् ।