उवासंघ खैरहनीद्वारा मौरिपालक किसानहरुसंग अन्तरक्रिया
चितवन , ७ भदौ । उद्योग वाणिज्य संघ खैरहनीले मौरिपालक किसानहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । महको बजारीकरण र बिक्रीवितरणमा देखिदै आएको विषयमा आज छलफल भएको हो ।
उद्योग वाणिज्य संघ खैरहनीले आउदो पुस ५ गतेदेखि १३ गतेसम्मा संचालन गर्ने तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्ने सोच अनुरुप आज मौरिपालक किसान महासङको प्रतिनिधिहरुसंग छलफल गरिएको कार्यक्रमका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । चितवनका किसानले उत्पादन गरेको मह उल्लेखनीय परिमाणमा विक्री गर्दै महको प्रवर्द्धन गर्ने लक्ष्य रहेको लम्सालले बताए ।
कार्यक्रम बोल्दै मौरिपालक किसानहरुले मह उत्पादन भएपनि सहज रुपमा विक्री नहुदा किसानलाई समस्या परेको बताए । महको बजारीकरणमा उद्योग वाणिज्य संघले समेत भुमिका खेल्नुपर्नेमा उनीहरुको जोड थियो । उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनालले पहिलो चरणको अन्तरक्रिया सकारात्मक रहेको भन्दै थप छलफल र सहकार्य गरि महको प्रवर्द्धन र विक्री वितरणमा टेवा पुग्ने गरि आफुहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी , पुर्वअध्यक्षहरु , मौरिपालक किसान महासङका पदाधिकारी , निवर्तमान अध्यक्ष , उपाध्यक्षहरुको सहभागीता रहेको थियो ।