गाँउ गाँउमा सिंहदरवारको अवधारणा आत्मसात गर्दै वडा कार्यालय,खैरहनी २ मा घरमै पुगरे जन्मदर्ता सेवा
चितवन , ६ असोज । खैरहनी नगरपालिका वडा नम्बर २ ले गाँउगाँउमा सिंहदरवारको अवधारणालाई अवलम्बन गरेको छ । जनताको काम सरल र सहज रुपमा गाँउ घरमै होस् भन्ने अभिप्रायले स्थानिय तह घोषणासँगै वडा कार्यालयहरुबाट विभिन्न सेवा प्रदान हुदै आएका छन् । वडा कार्यालयबाट प्रदान हुने सेवाहरुमध्य केहि सेवाहरु खैरहनी नगरपालिका वडा नम्बर २ ले घरमै पुगरे दिन सुरु गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ ले जन्मदर्ता , मृत्युदर्ता जस्ता सेवा घरमै पुगेर दिन थालेको हो ।
वडाभित्र नयाँ सदस्यको आगमको बधाईको साथ नवजात शिशुको जन्मदर्ता घरमै पुुगेर गर्ने सेवा सुरु गरेको खैरहनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए । जन्मदर्ताको साथमा सुत्केरीलाई पौष्टिक आहार समेत वितरण गरिने र स्वास्थ्यकर्मीबाट नवजात शिशु र सुत्केरीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यकता अनुुरुपको स्वास्थ्य सेवा समेत प्रदान गर्ने अभियान सुरु गरेको वडा अध्यक्ष उप्रेतीले बताए । शुक्रबार खैरहनी नगरपालिका वडा नम्बर २ को परिवार खैरहनी २ स्थित विकास गुरुङ्गको घरमै पुुगेर उनको छोरीको जन्मदर्ता प्रमाणपत्र प्रदान गरेको थियो । छोरी शान्भी गुरुङ्गको जन्मदर्ताको प्रमाणपत्र घरमै पाएकोमा अभिभावकले खुशी व्यक्त गरे । जन्मदर्ता प्रमाणपत्रसँगै सुत्केरी सपना राना मगर गुरुङ्गलाई पौष्टिक आहार स्वरुप दुई क्रेट अण्डा प्रदान गरिएको थियो । यो पहिलो सेवा भएकाले आगामी दिनमा अन्य सुत्केरीलाई थप पौष्टिक आहार र नवजात शिशुलाई आवश्यक पर्ने पौष्टिक आहार वा सरसफाईको लागि आवश्यक पर्ने सामाग्री समेत प्रदान गर्ने तयारी रहेको वडा अध्यक्ष उप्रेतीले बताए ।
वडा कार्यालयले जन्मदर्ता मात्रै नभएर मृत्यु दर्ता समेत घरमै पुगेर दिने अभियान सुरु गरिसकेको छ । वडाभित्र कसैको मृत्यु भएमा उक्त परिवारमा समवेदनाको साथ १३ औं दिनमा मृत्यु दर्ताको प्रमाणपत्र समेत घरमै पुगरे दिने गरिएको वडा नम्बर २ का वडा सचिव सुभाष कुवँरले बताए । दु:खको समयमा घरपरिवारलाई सान्त्वना दिन घरमै पुग्ने गरिएको उनले बताए । घटना घटेको ३५ दिनभित्र घटना दर्ता गर्दा शुल्क नलाग्ने भएकाले जन्मदर्ता र मृत्युदर्ताको लागि आवश्यक जानकारी तथा कागजपत्र वडा अध्यक्ष , वडा सदस्य वा टोल विकास मार्फत कार्यालयमा ल्याएर प्रक्रिया पुरा गरे पश्चात् सेवाग्राहीको घरमै पुगरे प्रमाणपत्र दिने गरिएको कुवँरले बताए ।