गृहणीलाई व्यवसायिक किसान बनाउदै खैरहनी नगरपालिका
चितवन , ११ असोज । गृहणीको रुपमा जीवनयापन गर्दै गरेका महिलाहरुलाई खैरहनी नगरपालिकाले व्यवसायिक किसान बनाएको छ । खैरहनी नगरपालिकाले संचालन गरेको विभिन्न तालिमहरुमध्य च्याउ खेतीको तालिम लिएका खैरहनी २ का तिनजना महिला अहिले व्यवसायिक रुपमै च्याउ खेतीमा लागेका छन् । नगरपालिकाले तालिममात्रै नभएर अनुदान समेत दिएपछि घरको काममा मात्रै व्यस्त रहेका खैरहनी नगरपालिका वडा नम्बर २ निवासी गायत्री क्षेत्री अधिकारी , सूचना आले र इन्दिरा क्षेत्री मिलेर मेलमिलाप कृषि फर्म दर्ता गरेर अहिले च्याउ खेती गर्दै आएका छन् । उनीहरुले नगरपालिकाको मेयर कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा च्याउको बीउ , टहरा , च्याउमा पानी फोहरा दिन फगर समेत प्राप्त गरेका छन् । कुल ४ लाख रुपैयाको लागतमध्य खैरहनी नगरपालिकाले २ लाख रुपैया अनुदान दिएको थियोे ।
खैरहनी नगरपालिकले दिएको तालिमकै कारण घरगृहणीमा व्यस्त हुने हामी अहिले व्यवसायिक किसान बन्न सकेको बताउछिन्,‘सूचना आले । च्याउ खेतिमा लाग्नुअघी घरको काममा बिहान बेलुका व्यस्त हुने र दिउँसो खाली बस्ने गरेको उनले बताइन् । नगरपालिकाले दिएको तालिम लिएपछि च्याउ खेती सुरु गरेको र नगरपालिकाले अनुदान समेत दिएपछि अहिले थप उर्जाको साथ काम गरिरहेको आलेले बताइन् ।
घर नजिकै खाली रहेको एउटा खोर भाडामा लिएर सुरुमा कुल ४५ हजारबाट आफूहरुले च्याउ खेती सुरु गरेको मेलमिलाप कृषि फर्मकी गायत्री क्षेत्रीले सुनाइन् । विउ रोखेको १४ देखी १८ दिनमै उत्पादन हुन सुुरु हुुने र विक्रीको लागि बजार बजार जानु नपर्ने , फर्ममै आएर व्यापारीहरुले लैजाने गेरेकोले सहज भएको क्षेत्रीले बताइन् । दैनिक करिब २५ देखी ८० केजीसम्म च्याउ विक्री हुने र च्याउको होलसेल मूूल्य नै १ सय ५० देखी २ सय रुपैयाँसम्म भएकोले यो राम्रो आम्दानीको स्रोत भएको छ,उनले भनिन् । सुरुमा च्याउ खेती गर्दा के होला, कस्तो होला भन्ने थियो तर गर्दै जाँदा राम्रो हुने रहेछ भनेर अब जग्गा थप खोजेर च्याउ खेती बढाउने तयारी रहेको उनले बताइन् ।
नगरपालिकाले विभिन्न किसिमको सिपमुलक तथा व्यवसायिक तालिम प्रदान गर्दै आएको र तालिम लिएकाहरुले व्यवसाय सुरु गर्दा अनुदान दिने गरेको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले बताए । नगरपालिकाले संचालन गरेको तालिम लिएर व्यवसाय गर्न चाहनेहरुलाई समूह बनाएर वीउ पुुजी दिदै आएको उनले बताए । च्याँउ खेतीमा मेयरसँग कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान दिएर उनीहरुलाई खेती गर्न प्रेरित गरेको नगर प्रमुख खनियाँले बताए । यस कार्यक्रमले रोजगारीको समेत सिर्जना गर्ने गरेको उनले बताए । च्याँउ खेतीमात्रै नभएर नगरपालिकाले जग्गा नहुने तर खेती गर्न चाहने खैरहनीवासीहरुलाई नगरपालिकाले नै जग्गा भाडा तिरेर खेती गर्न प्रेरित समेत गरेको छ ।