खैरहनी महोत्सवको पुर्व सन्ध्यामा रोडरेस हुने
चितवन, २८ मंसिर । तेस्रो खैरहनी महोत्सवको अवसरमा खुल्ला रोडरेश प्रतियोगिता हुने भएको छ । महोत्सव सुरु हुने अघिल्लो दिन पुस ४ गते ७ किलोमिटरको रोड रेस आयोजना गरिएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिका सदस्य एवं खेलकुद ब्यवस्थापन समिति संयोजक प्रेम नारायण जोशिले जानकारी दिए । तेस्रो खैरहनी महोत्सव पुस ५ गतेदेखि १६ गते सम्म संचालन हुदैछ ।
महोत्सवको पुर्व सन्ध्यामा आयोजना हुने रोड रेश प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । द्वितीय ,तृतीय र चौथो हुनेले क्रमशः ७ हजार,५ हजार र एक हजार ५ सय रुपैयाँ प्राप्त गर्ने खेलकुद ब्यबस्थापन समिति संयोजक जोशिले बताए । पांचौ देखि दशौं सम्मलाई समान एक हजार रुपैयाँ प्रदान गरिनेछ ।
७ किलोमिटर दुरिमा हुने दौड प्रतियोगितामा चितवनसहित छिमेकी जिल्लाबाट पनि सहभागिता जनाउने संयोजक जोशिले बताए । खैरहनी २ चैनपुर लदरी खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।