पुर्विचितवनमा गैंडाको वितण्डा, वस्तिमा पसेर आक्रमण गर्दा एकजनाको मृत्यु , सातजना घाइते
चितवन , १६ पुष । पुर्वी चितवनमा आज बिहानैदेखी गैंडाले बितन्डा मच्चायो । वस्तीमा पसेको गैंडाले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट सातजना घाइते भएका छन् । दिउँसो करिव १:४५ बजे गैंडाको आक्रमणबाट रत्ननगर नगरपालिका वडा नम्बर १६ निवासी ७० वर्षिय कृष्णा कुमारी थापा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते थापाको उपचारको क्रममा भरतपुर अस्पतालमा २:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गैंडाले आज बिहानैबाट गैंडा आउने कल्पनानै नगरिएको पुर्वपश्चिम राजमार्गबाट दक्षिण भेगमा रहेको ठाउँमा एकाएक बितन्डा मच्चाएको हो । बिहान करिब ६ बजे खैरहनी नगरपालिका वडा नम्बर १ निवासी अन्दाजी वर्ष ४५/५० कि सीता नेपाललाई आगनमा निस्किएको बेला एक्कासी आक्रमण गरेको थियो । घाइते नेपाललाई उपचारको लागि अटोमा अस्पताल लैजाने क्रममा पुन गैंडाले अटोमा समेत आक्रमण गर्यो ।
त्यसपश्चात् उक्त गैंडाले खैरहनी १ श्रीकृष्ण टोल निवासी अन्दाजी ६० वर्षिय जानुका महतलाई आफ्नै घर पछाडी कुडो पकाउने क्रममा मकैवारीबाट आएर आक्रमण गरि घाइते बनायो । त्यसपश्चात त्यही नजिकैको मकैवारीमा रहेको गैंडालाई नियन्त्रणमा लिएर सुरक्षित रुपमा वासस्थान पर्काउन चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयको समन्वयमा चारवटा हात्ती सहितको टोलि खटिएको थियो । उक्त गैंडाले हात्तीलाई समेत आक्रमण गर्दै चैनपुर , कयर खोलाहुँदै रत्ननगरको पिठुवा , जयमङ्गला , चिसापानी , कृष्ण मन्दिर चोक , पुर्वपश्चिम राजमार्ग हुँदै रत्ननगर ९ को इकोपार्क नजिकतर्फ गएको हो ।
सो क्रममा गैंडाले बाटोमा भेटेको व्यक्ति , पशुचौपाय , सवारीसाधनलाई आक्रमण गर्दै कुदेको हो । सो क्रममा गैंडाको आक्रमणबाट रत्ननगर नगरपालिका वडा नम्बर १६ बस्ने बर्ष अं.७८ को डम्मर बहादुर थापा, रत्ननगर न.पा.१२ बस्ने बर्ष ७२ को चेतनाथ चौलागाई , सोही स्थान निवासी ३९ वर्षिय सीता पोख्रेल , रत्ननगर न.पा.१४ निवासी ६० वर्षिय मिना गुरुङ , रत्ननगर न.पा.१२ निवासी २५ वर्षिय पुजन बि.क.घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उक्त गैंडाले शनिबार मात्रै समेत राप्ती नगरपालिका वडा नम्बर ९ मा आक्रमण गरि दुईजनालाई घाइते बनाएको थियोे ।