खैरहनीमा निशुल्क लोकसेवा तयारी कक्षा पढेका दुईजना खरिदार पदमा छनौट
चितवन , ९ फागुन । खैरहनीका दुईजनाले लोकसेवा परिक्षा उतिर्ण गरेका छन् । खैरहनी नगरपालिकाको कार्यालय र खैरहनी ८ नम्बर वडा कार्यालयले गत बर्ष संचालन गरेको निशुल्क लोकसेवा तयारी कक्षामा सहभागी दुईजनाले खरिदार पदमा नाम निकालेका छन् । नगरपालिका र वडा कार्यालयको आयोजनामा खैरहनी ८ कै लोक सेवा सारथी प्रा.लि.ले सहजीकरण गरेको लोक सेवा तयारी कक्षामा सहभागी खैरहनी १० का सरोज ढकाल र खैरहनी २ की भूमिका न्यौपाने निजामती सेवाका लागि छनौट भएका छन् ।
लोक सेवा आयोग हेटौडाँले लिएको परिक्षा र अन्तरवार्तामा खैरहनीका दुवैजनाले प्रथम वर्गियतामा नाम निकाल्न सफल भएको लोक सेवा सारथीका संचालक महेश घिमिरेले बताए । सरोजले खुल्लातर्फबाट एक नम्बरमा र भूमिका महिलातर्फबाट एक नम्बरमा सिफारिसमा परेका छन् । खैरहनी नगरपालिकाको लगानीमा संचालित लोकसेवा तयारी कक्षामा सहभागी भएकाहरुले लोक सेवा परिक्षा उत्तीर्ण गरेकोमा नगरपालिका परिवार खुसी भएको खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले बताए । पछिल्लो समय युवापुस्ता विदेशीने लहर चलेको समयमा निजामती सेवाको तयारी गरि आफ्नो कडा मेहनतले नाम निकाल्न सफल दुवैजना खैरहनीका अन्य युवाहरुको लागि प्रेरणाको स्रोत बन्नेमा आफू विश्वस्त रहेको नगर प्रमुख खनियाँले बताए । लोक सेवा आयोग हेटौडाँ कार्यालयले खरिदार पदमा छनौट भएका ढकाललाई जिल्ला हुलाक कार्यालय चितवन र न्यौपाने जिल्ला प्रशासन कार्यालय चितवनमा सिफारिस गरेको छ ।