श्रीकृष्ण टोलका स्थानीयलाई एम्बुलेन्स शुल्कमा २० प्रतिशत छुट
चितवन , २२ चैत । पुर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ स्थित श्रीकृष्ण टोल विकास संस्थाको पहलमा टोलवासीहरुले एम्बुलेन्स शुल्कमा छुट पाउने भएका छन् । श्रीकृष्ण टोलका वासिन्दाले एम्बुलेन्सको शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । एम्बुलेन्समा छुटको लागि खैरहनी १ स्थित स्वर्गीय तिर्थराज सुयल स्मृति प्रतिष्ठान र टोल विकास संस्थाबिच सम्झौता भएको छ ।
टोलवासीहरुलाई सहुलियत होस् भनेर छुटको लागि पहल गरेको टोल विकासका अध्यक्ष निलकण्ठ ढुंगानाले बताए । टोलभित्रका अति विपन्न र अशक्तहरुले एम्बुलेन्स शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने अध्यक्ष ढुंगानाले बताए । टोलवासीसंगै खैरहनी नगरपालिका भित्रका सहिद परिवार र वेपत्ता परिवारका सदस्यहरुलाई आफुले निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष खिल ( राम ) प्रसाद सुयलले घोषणा गरेका छन् ।