८ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स
प्रकाशित मिति: बुधबार, चैत्र २७, २०८१ | १८:०७:०३
चितवन, २७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हाे । यो गत आव २०८०/८१ को तुलनामा ९.४ प्रतिशत बढी हो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशत वृद्धि भइ सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशत बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २७, २०८१ |
१८:०७:०३
793