खैरहनी १२ मा एड्वानले दियो मौसमी खेती तालिमसंगै बीउ पुँजी
खैरहनी, २० जेठ । खैरहनी नगरपालिका वडा नम्बर १२ मा नेपाल दलित उत्थान संघ ( एड्वान ) ले महिलाहरूलाई मौसमी खेतीको तालिम दिएको छ ।सीमान्तकृत महिलाहरूको जीविकोपार्जन र आर्थिक सशक्तीकरणका लागि अकबरे खुर्सानी , चुकन्दर तथा मौसमी तरकारी खेती तालिम दिइएको हो । करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग, खैरहनी नगरपालिकाको समन्वय र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा जेठ १४ गतेदेखी २० गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा सहभागी १५ जना महिलाहरूको सुर्यकिरण महिला समुहलाई बीउ पुजि समेत प्रदान गरिएको छ । उक्त समुहलाई नगद ५० हजार रुपैया बीउ पुजि प्रदान गरिएको एड्वानकि सहजकर्ता सुनिता दराईले बताइन्।
कार्यक्रमकी प्रमुख अतिथि खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेतीले महिलाहरूलाई दिइएको तालिमले महिला सशक्तीकरणमा समेत टेवा पुग्ने बिश्वास व्यक्त गरिन । तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गर्दै व्यवसायिक खेती गरे आर्थिक रुपमा सबल हुनसकिने बताइन् । उनले एड्वानले तालिम पश्चात् बीउ पुजि दिएर व्यवसायिक खेती गर्न प्रेरित गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले समेत विभिन्न तालिम लिएकाहरुलाई बीउ पुजि दिएर व्यवसाय गर्न प्रेरित गर्दै आएको बताइन् । उनले कृषि सम्बन्धि केही सम्स्या भए एक कलको भरमा खेत खेतमा कृषि प्राविधिक सुविधा प्रदान गर्दै आएको बताइन् । उनले समुहिक रुपमा जग्गा भाडामा खोजेर खेती गर्न खोज्नेहरुको जग्गा भाडा नगरले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिन । खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्तले कृषि समूह दर्ता गरी सामूहिक खेतीमा लाग्न सहभागी महिलाहरूलाई सुझाए। उनले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिम समापन कार्यक्रममा बोल्दै एड्वानकी अध्यक्ष बिन्दु थापा परियारले खैरहनीमा महिला सशक्तीकरण र कृषिको क्षेत्र काम अगाडी बढिरहेको बताइन् । महिलाहरुलाई नेतृत्वमा पुत्याउन आर्थिक सशक्तीकरण आवश्यक रहेको भन्दै एड्वानले महिलाहरूको आर्थिक सशक्तीकरणमा लागिरहेको अध्यक्ष थापाले बताइन् । एड्वानले क्षमता अभिवृद्धि , जिविकोपार्जन र वित्तीय साक्षरतालाई प्राथमिकता दिदै आएको उनले बताइन् । व्यवसायिक कृषिको लागि पराम्परागत शैली भन्दा आधुनिक कृषि प्रणालीलाई आत्मसात गर्नुपर्नेमा उनले जोड दिइन् ।
समापन कार्यक्रममा सुष्मा चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् भने संगिता महतोले तालिममा सिकेको विषयमा प्रकाश पारेकी थिइन् । ७ दिनसम्म संचालन भएको तालिममा खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सृजना श्रेष्ठ, प्राविधिक सहायक यमुना सापकोटा, नित्या दाहाल , ध्रुव आचार्य , मनिष पौडेलले प्रशिक्षण दिएका थिए ।