खैरहनी १२ मा तरकारी तथा लहरेवाली खेती तालिम
चितवन , २८ जेठ । खैरहनी नगरपालिका वडा नम्बर १२ मा मौसमी , वेमौसमी तरकारी तथा लहरेवाली खेती तालिम दिइएको छ । नेपाल दलित महिला उत्थान संघको आयोजना तथा करुणा ट्रष्टको साझेदारीमा खैरहनी १२ का १५ जना महिलाहरू तालिम दिइएको हो । ७ दिनसम्म संचालन भएको तालिमको आज समापन गरिएको छ ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया , उप प्रमुख कविता उप्रेती , वडा अध्यक्ष केदारनाथ पन्त लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । एड्वानले तालिममा सहभागीहरुबाट समूह गठन गरि बीउ पुजि समेत प्रदान गरेको छ । जानकी महिला समुहलाई नगद ५० हजार रुपैया बीउ पुजि प्रदान गरिएको एड्वानको सहजकर्ता सुनिता दराईले जानकारी दिइन् ।
खैरहनी नगरपालिकाको कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठ लगायत कृषि प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी शशी कुमार खनियाले एड्वानले कृषि र महिलाहरूको सशक्तीकरणको क्षेत्रमा रात काम गरिएको भन्दै प्रसंशा गरे ।
खैरहनी नगरपालिकाले कृषिमा धेरै काम गरिरहेको भन्दै कुनै समस्या भए कृषि शाखामा सम्पर्क गर्न आग्रह गरे । उनले किसानलाई कुनै समस्या परे एक कलको भरमा खेत खेतमा कृषि प्राविधिक भन्ने अभियान संचालन गरिरहेको बताए । उनले पछिल्लो समय बेमौसमी खेतीको माग धेरै भएको भन्दै नगरले समेत यस्ता तालिम आयोजना गरिरहेको र समुहमा काम गर्नेलाई बीउ पुजि समेत दिदै आएको नगर प्रमुख खनियाले बताए । तालिम लिएर सदुपयोग नगरे त्यो पनि भ्रष्टाचार हो भन्दै नगर प्रमुख खनियाले तालिमको सदुपयोग गर्न आग्रह गरे ।
एड्वानको उपाध्यक्ष तथा कार्यक्रमको अध्यक्ष तिर्थ कुमारी विकले तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्दै निर्वाहमुखीबाट अब व्यवसायिक खेतीमा लाग्न आग्रह गरिन् ।