नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
चितवन, ०१ असार । नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए ।
स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि उनले आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।
सम्झौताअनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।
पालिकाबाट सञ्चालित स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी स्वयंसेविकालाई पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार स्वयंसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
सहभागीलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको विज्ञप्तिमा उल्लेख छ ।