हर्दिमा जडान भयो नयाँ ट्रान्सर्फमर, पुर्वी चितवनमा विद्युतको समस्या तत्काललाई हट्ने
चितवन , १२ साउन । पुर्वी चितवनको राप्तीमा रहेको हर्दी सवस्टेशनमा नयाँ ट्रान्सर्फमर जडान भएको छ । सवस्टेशनमा २४ एमभिएको नयाँ ट्रान्सर्फमर आइतबार राती जडान भएको हो । मंगलबारसम्म जडान हुने लक्ष रहेपनि दुईदिन अगाडी नै ट्रान्सर्फमर जडान गर्न सफल भएको हर्दी सवस्टेशनका प्रमुख रोशन खनियाले जानकारी दिए ।
पहिला १६ एमभिएको ट्रान्सर्फमरबाट विद्युत वितरण हुदै आएकोमा लोड बढेर करिव २० एमभिए पुगेपछि उक्त ट्रान्सर्फमरले भार बहन गर्न नसक्दा पटक पटक विद्युत जाने ( ट्रिप ) हुने समस्या आएको खनियाले बताए । ट्रान्सर्फमरको क्षमता भन्दा लोड अत्याधिक हुँदा विद्युत जाने समस्या आएकोले अब नयाँ ट्रान्सर्फमर जडान पछी उक्त समस्या हट्ने खनियाले बताए ।
नयाँ ट्रान्सर्फमर जडान गरेर चार्ज भइरहेको र आज बेलुकाबाटै नयाँ ट्रान्सर्फमरबाट विद्युत वितरण गरिने उनले बताए । अहिलेलाई समस्या समाधान भएको भन्दै पुर्विचितवनमा विद्युतको दीर्घकालीन समाधानको लागि हर्दिबाट पर्सा सवस्टेशनसम्म ३३ केभीको लाइन ल्याउन पर्नेमा उनले जोड दिए । हर्दीबाट पर्सा ल्याउने लाइनको काम स्थानीयको अवरोधले लामो समयदेखि रोकिएको छ । उक्त लाइन विस्तारमा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।



















