सुनको मूल्य फेरि नयाँ रेकर्डमा, तोलामा ४ सयले वृद्धि
चितवन, २९ असोज । दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार पनि बढ्दै तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढी हो। अघिल्लो दिन प्रतितोला २ लाख ४८ हजार ५ सयमा कारोबार भएको थियो।
गत शुक्रबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ। शुक्रबार प्रतितोला २ लाख ३५ हजारमा कारोबार भएको सुन पाँच दिनमै १३ हजारले बढेको छ। यसैबीच, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घटेर ३ हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
विश्व बजारमा लगानीकर्ताहरूले सुनप्रति बढ्दो आकर्षण देखाएकाले यसको मूल्य वृद्धि भइरहेको बताइन्छ। पछिल्ला महिनाहरूमा सुनमा लगानीबाट उच्च प्रतिफल पाएका ठूला लगानीकर्ताले यसको माग बढाएका छन्। साथै नेपाल र भारतमा दिपावलीको तयारीसँगै खुद्रा मागमा पनि वृद्धि भएको छ। विश्वका केन्द्रीय बैंकहरूले समेत आफ्नो भण्डारमा सुन सुरक्षित रूपमा राखिरहेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।



















