अष्ट्रेलियामा गोली हानाहान: १६ जनाको मृत्यु, ४० जना घाइते
चितवन, २९ मंसिर । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा “हनुक्का” पर्व मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु भएको छ र कम्तिमा ४० जना घाइते भएका छन्। न्यू साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले सोमबार उक्त घटनाको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएको छ।
सोमवार एक पोस्टमा एनएसडब्ल्यू प्रहरीले बोन्डीमा आइतबार भएको गोली हानाहानको बारेमा जानकारी दिएको थियो। सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिहरूले ज्यान गुमाउनेमा बालबालिकासमेत रहेका पुष्टि गरेका छन्।
अधिकारीहरूले घटनापछि बोन्डी समुद्र तट र वरपरका क्षेत्रलाई सील गरेर अनुसन्धान थालेका छन् र हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ। अनुसन्धानकर्ताहरूले घटनास्थलमा अनुसन्धान गरिरहेका बेला बोन्डी समुद्र तट र वरपरका सडकहरू बन्द गरिएका छन्, र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको छ।
यस घटनालाई आधिकारिक रूपमा आतंकवादी आक्रमणको रूपमा घोषणा गरिएको छ, जहाँ हनुक्का पर्व मनाउन सयौं मानिसहरू भेला भएका थिए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सामूहिक गोलीबारीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घटनाको निन्दा गरेका छन्। उनले यसलाई “विनाशकारी आतङ्कवादी आक्रमण” भन्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गरेका छन्।
न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार, बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा संलग्न दुई संदिग्ध, बाबु र छोरा, छन्। लान्योनले पत्रकार सम्मेलनमा जानकारी दिँदै ५० वर्षीय बुबालाई घटनास्थलमै गोली हानेर मारेको र २४ वर्षीय छोरालाई गम्भीर घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको पुष्टि गरेका छन्।
अधिकारीहरूले नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरूलाई सुरक्षित रूपमा हटाएको पनि जनाएका छन्।





















