बारुदी सुरुङ र विस्फोटक पदार्थबारे विधायन समितिको सुरक्षा निकायसँग छलफल
चितवन, २४ पुष । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थसम्बन्धी विषयमा शुक्रबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै उक्त विषयमा सरोकारवाला निकायसँग छलफल गर्न लागिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए।
छलफलका लागि समितिले प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आमन्त्रण गरेको छ।
यसैबीच, समितिको आज बसेको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन अवस्था तथा प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरिएको थियो। छलफलमा सांसदहरू नरबहादुर विष्ट, सुमित्रा विसी, श्रीकृष्णप्रसाद अधिकारी, गोमादेवी तिमिल्सना र रुक्मिणी कोइरालालगायत सहभागी थिए।






















