खिचरा महोत्सवको तयारी पुरा ,मुख्यमन्त्री बानियाँले उद्घाटन गर्ने
चितवन , २८ पुष । खैरहनीमा संचालन हुने ११ औं खिचरा महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को आयोजनामा मंगलबारबाट सुरु हुने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने छन् । पुष २९ देखी माघ १० गतेसम्म खैरहनी ५ गौचरणमा संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवको मूल संयोजक कृष्णलाल चौधरीले जानकरी दिए ।
महोत्सव उद्घाटन पुर्व पर्साबजारबाट महोत्सव स्थलसम्म विभिन्न जातजाती , संघसंस्थाको शोभा र्याली निकालिने तयारी रहेको संयोजक चौधरीले बताए । माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, भेषभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । २०७० सालदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने माघी पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहनेछन् । त्यसमध्ये थारु जाति लगायत विभिन्न जातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा स्टल रहने संयोजक चौधरीले जानकारी दिए । महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस निर्माण गरिएको छ ।
महोत्सवमा प्रवेशको लागि एक सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ भने विद्यार्थीहरुको लागि टिकट दर ७० रुपैयाँ राखिएको आर्थिक समिति संयोजक नारायण महतोले जानकारी दिए ।माघ १ गते बाहेक प्रत्येक दिन दिउँसो एक बजेसम्म प्रवेश गर्नेहरुलाई प्रवेश निशुल्क र महोत्सव अवधि भरनै पार्किङ समेत निशुल्क रहने आयोजकले जनाएको छ । त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जनाएको छ । महोत्सवमा स्टेजको नजिक भिआइपी क्षेत्र तोकिएको र उक्त क्षेत्रमा बस्न चाहनेहरुलाई दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आर्थिक समिति संयोजक महतोले बताए । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको साथै विभिन्न व्यान्डहरुको प्रस्तुती रहने आयोजनले जनाएको छ ।



















