राष्ट्रियसभा सदस्य निर्वाचन: बागमती र गण्डकी प्रदेशमा आज मतदान
चितवन, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि मतदान हुँदैछ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्। मतदान केन्द्र हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको छ।
निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गर्नेछन्। बागमती प्रदेशमा एक महिला र एक अन्य क्लस्टर गरी दुई सिटका लागि चार दलका तीन महिला र तीन पुरुष गरी छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार छन्। अन्य क्लस्टरतर्फ नेकपा (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेकपाका प्रेम सापकोटा र नेमकिपाका विक्रम ढुकुछे उम्मेदवार रहेका छन्।
११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा कुल ३४८ मतदाता छन् भने कुल मतभार १० हजार ३५२ रहेको छ। मतभारका आधारमा यहाँ नेपाली कांग्रेस बलियो देखिएको छ।
उता, गण्डकी प्रदेशमा पनि आज दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदानका लागि निर्वाचन कार्यालय परिसरमै दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ। एउटा केन्द्रमा ५९ प्रदेशसभा सदस्य र अर्को केन्द्रमा १६९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्।
गण्डकीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा उम्मेदवार उठाएका छन्। महिलातर्फ एमालेकी सम्झना देवकोटा र अन्यतर्फ नेपाली कांग्रेसका प्राध्यापक डा जगत् तिमिल्सिना उम्मेदवार छन्। नेकपाले महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामा उम्मेदवार बनाएको छ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाबाट महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटा र अन्यतर्फ शङ्करप्रसाद बराल उम्मेदवार रहेका छन्। गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता छन्। यहाँ प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ निर्धारण गरिएको छ।



















