नेप्से दोस्रो दिन पनि सामान्य वृद्धि
चितवन, ०९ चैत्र । यो साता कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ।
आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ विन्दुमा पुगेको हो।
आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहका उपसूचक घटेका छन् भने वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड समूहका उपसूचक बढेका छन्।
आज सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा सनराइज फस्ट म्युचुअल फन्ड को शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड को सबैभन्दा धेरै रु ६७ करोडभन्दा बढी बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।























