क्रिमियनमा रूसी सैन्य विमान दुर्घटनाग्रस्त, चालक दलसहित २९ जनाको मृत्यु
चितवन, १८ चैत्र । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २९ जनाको मृत्यु भएको छ। प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ।
सरकारी समाचार एजेन्सीहरूले रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एएन–२६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार रहेको जानकारी दिएका छन्। विमान नियमित उडानका क्रममा मङ्गलबार साँझ करिब ६ बजेतिर सेनासँग सम्पर्क विच्छेद भएको थियो।
विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो। उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानले बाह्य आक्रमण नभएको र प्राविधिक खराबीले दुर्घटना भएको बताइएको छ।
एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ।

















