यात्रु अभाव र सडक सहजताका कारण बुद्ध एयरले भरतपुर–पोखरा उडान बन्द
चितवन, ०८ जेठ । बुद्ध एयरले चितवनको भरतपुर र कास्कीको पोखराबीच सञ्चालन हुँदै आएको उडान सेवा बन्द गरेको छ ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार विगत एक महिनादेखि उडान रोकिएको हो । यात्रु संख्या अत्यन्त न्यून हुनु, हवाई भाडा बढ्नु तथा पोखरा–मुग्लिन सडकखण्ड सहज बनेपछि यात्रुहरू सडकमार्ग रोज्न थालेकाले उडान स्थगित गरिएको उनले बताए ।
उनका अनुसार समूहगत यात्रु भएमा भने आवश्यकताअनुसार उडान सञ्चालन गर्न सकिनेछ । “केही समय निरन्तर सेवा दिइयो, तर सधैं खाली जहाज उडाउन सकिएन,” उनले भने, “दुवै गन्तव्य पर्यटकीय क्षेत्र भए पनि अपेक्षित रूपमा यात्रु आकर्षण हुन सकेन ।”
चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको अनुरोधपछि बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गरेको थियो ।
यसअघि सडक विस्तारका कारण असहज यात्रा हुँदा हवाई सेवा उपयोगी बनेको थियो । तर अहिले सडक स्तरोन्नति भएपछि निजी सवारीमा करिब साढे २ घण्टा र सार्वजनिक सवारीमा करिब ३ घण्टामै पोखरा पुग्न सकिने भएकाले यात्रुहरू सडकमार्ग रोज्न थालेका छन् ।






















