आज प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट
चितवन, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा पार्टीका शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन्। उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग छुट्टाछुट्टै भेट गरेका हुन्।
यसैबीच, लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका छन्। ती भेटमा नेपाल–भारत सम्बन्ध, साझा हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
लामिछाने नेतृत्वको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

























