भदौ २३–२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : केपी शर्मा ओली
चितवन, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको घटना नियोजित र षड्यन्त्रपूर्ण रहेको बताएका छन्।
काठमाडौँमा केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त घटनालाई केही व्यक्तिले आन्दोलन वा क्रान्ति भने पनि त्यो युवाहरूको हत्या गराउने प्रपञ्च भएको दाबी गरे।
उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमै उक्त घटना पूर्वनियोजित षड्यन्त्र भएको उल्लेख रहेको बताए। आफ्नो नेतृत्वको सरकारलाई संवैधानिक र संसदीय प्रक्रियाबाट हटाउन नसकेपछि आपराधिक मार्ग अपनाएर विस्थापन गर्ने प्रयास भएको उनको भनाइ थियो।
ओलीले आगजनी र पेट्रोल बम निर्माणसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको आरोप लगाउँदै अराजक गतिविधिलाई संरक्षण गर्ने प्रवृत्ति अझै कायम रहेको टिप्पणी गरे।

























