भारत भ्रमण फलदायी भएको दाबी गर्दै परराष्ट्रमन्त्री खनालले दिए सीमा विवादबारे स्पष्ट सन्देश
चितवन, २७ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो तीनदिने भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन फलदायी भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी दिँदै उनले भारतका विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको बताए। भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रभावकारी र मजबुत बनाउने विषयमा छलफल भएको उनको भनाइ थियो।
मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे पनि सदनमा स्पष्टिकरण दिएका छन्। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्याउँदै यस विषयमा सरकारको धारणा स्पष्ट र अडिग रहेको बताए।
सीमा समस्याको समाधान कूटनीतिक माध्यम, ऐतिहासिक तथ्य र आधिकारिक नक्साका आधारमा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भारतसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
सुगौली सन्धिको सन्दर्भमा प्रधानमन्त्रीले बेलायतको भूमिका उल्लेख गरेको विषयमा स्पष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता नखोजेको बताए। ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको उनको भनाइ थियो। सीमा विवाद नेपाल र भारतबीचको द्विपक्षीय विषय भएकाले आपसी समझदारीबाटै समाधान हुनुपर्नेमा सरकार दृढ रहेको उनले बताए।
त्यस्तै, दशगजा क्षेत्रको अतिक्रमण नियन्त्रण र सीमा स्तम्भ व्यवस्थापनका लागि प्राविधिक टोली तथा संयुक्त फिल्ड सर्वेक्षण टोली सक्रिय रूपमा काम गरिरहेको जानकारी पनि उनले दिए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर सीमा समस्याको वैज्ञानिक समाधान र नेपाल–भारत सम्बन्धको थप सुदृढीकरणमा सरकार लागिपरेको मन्त्री खनालले बताएका छन्।























