बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको मृत्यु, सबै मृतकको सनाखत
चितवन, ३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङको मृत्यु भएको छ। इन्द्रबहादुर उक्त बसका धनीसमेत रहेको प्रहरीले जनाएको छ।
यस्तै, रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा तथा रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि ज्यान गएको छ। दैलेख घर भई नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ की २२ वर्षीया सुमी लामाको समेत दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बनेपाबाट रोशी–८ खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























