रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
चितवन, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
छ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा शालिकराम घिमिरेले पहिलो चरणमा सर्वाधिक १९९ मत प्राप्त गरेका थिए। आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको मतदान हुने तय गरिएको थियो। गोपाल घिमिरेले पहिलो चरणमा ८७ मत प्राप्त गरेका थिए।
तर दोस्रो चरणको मतदान सुरु हुनुअघि नै गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन गरेपछि शालिकराम सर्वसम्मत रूपमा प्रदेश सभापतिमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिएका छन्।
पहिलो चरणको मतदानमा रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ तथा रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। गएराति सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो।





















